२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

दमक भ्यु टावरलाई दिएको जग्गा नौ वर्षपछि फिर्ता माग्दै दाता


दमक, असार २० । दमक भ्यु टावरका लागि नौ वर्षअघि दान दिएको जग्गा व्यावसायिक कम्पनी माँ पञ्चकन्या हाउजिङले फिर्ता मागिरहेको छ । प्रतिकट्ठा तीन लाख दररेट छँदा दिएको जग्गा अहिले प्रतिकट्ठा ५० लाखभन्दा माथि कारोबार चलिरहेको छ ।

कम्पनीले जग्गा दान दिएको दुई वर्षपछि (सात वर्षअघि) जनप्रतिनिधिसँग गरेको सम्झौतालाई आधार बनाएर जग्गा वा जग्गाको मूल्य मागेको हो । २०७२ अघि नै माँ पञ्चकन्याले उक्त क्षेत्रमा स्थानीयसँग सस्तोमा १२ बिघा जग्गा खरिद गरेको थियो ।

जग्गाको भाउ ह्वात्तै बढाउने योजनाअनुसार १८ तले दमक भ्युटावर निर्माणका लागि पञ्चकन्याले २०७३ मा चार बिघा १८ कट्ठा सात धुर सरकारलाई दान दियो । पञ्चकन्या हाउजिङका सञ्चालकहरू केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दिपक प्रसाईं हुन् ।

तर, अचम्म के भयो भने दान दिइसकेको जग्गामध्ये दुई बिघा ‘सापटी दिएको’ भन्ने कागज दुई वर्षपछि गरियो । उक्त जग्गा नगरपालिकाले ६ महिनाभित्र पञ्चकन्यालाई फिर्ता गर्ने र फिर्ता गर्न नसके चलनचल्तीको दररेटअनुसार मूल्यांकन गरी पैसा बुझाउने भनी २०७५ जेठ ३१ गते जनप्रतिनिधिले नै पञ्चकन्या हाउजिङसँग कागजी प्रतिबद्धता जनाए ।

सम्झौतापत्रमा दमक नगरपालिकाका तत्कालीन नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र दमक–३ का वडा अध्यक्ष नविन बरालको हस्ताक्षर छ । बराल अहिले पनि वडा अध्यक्ष छन् । दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाको रोहबरमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार तत्कालीन समयमै स्थानीयसँग लिएर नगरपालिकाले १५ कट्ठा जग्गा फिर्ता गरेको थियो । तर, २५ कट्ठा फिर्ता गरेको थिएन । सात वर्षसम्म फिर्ता नहुँदा पनि पञ्चकन्या हाउजिङ चुपचाप बसिरह्यो ।

जब टावर निर्माण भयो, तब उक्त कम्पनीले २०७५ जेठ ३१ गतेको सम्झौताअनुसार २५ कट्ठा जग्गा वा सोबराबरको मूल्य माग्दै नगरपालिका धाइरहेको छ । उक्त क्षेत्रमा अहिले प्रतिकट्ठा जग्गाको भाउ ५० लाख माथि पुगेको छ ।

हाउजिङका सञ्चालकमध्येका एक कृष्णराज खतिवडाले दमक नगरपालिकाले दुई बिघा फिर्ता गर्ने लिखित सहमति गरेको र त्यसमध्ये २५ कट्ठा (एक बिघा ५ कट्ठा) फिर्ता नभएकाले माग गरिएको बताए । यद्यपि नगरपालिकाबाट ठोस जवाफ नआएको खतिवडाले बताए ।

भ्यु टावरको योजना आउनुभन्दा पहिला नै आफूहरूले स्थानीयबाट फनपार्क बनाउन जग्गा खरिद गरेको उनको भनाइ छ । पछि दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल (जो ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए) ले भ्यु टावर बनाउँदा आफूहरूले खरिद गरेको जग्गा पनि राम्रो हुने बताएपछि जग्गा दान दिइएको उनी बताउँछन् ।

दमक नगरपालिकाकाका हालका नगरप्रमुख रामकुमार थापाले भने हाउजिङलाई जग्गा फिर्ता गर्ने भनिएको कागज नगरपालिकामा फेला नपरेको बताए ।

उनले भने, ‘कार्यपालिका र नगरसभाबाट पास भएको पनि पाइएन । उहाँहरूले कागजात देखाएपछि जान्दिनँ भन्न पनि पाइएन । यसको पूर्णस्वामित्व पनि लिन सकिएन ।’ यो विषय कार्यपालिकामा लैजाने उनले बताए ।

माँ पञ्चकन्या हाउजिङले स्थानीयबाट सस्तोमा जग्गा किनेर केही भ्यु टावरलाई दिएर बाँकी जग्गामा प्लटिङ गरेको छ ।

Adv footer