२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

सुनसान सुन बजार !


बिर्तामोड, असार २० । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा बिर्तामोडका सुनचाँदी पसल बन्द छन् ।

असार १३ गतेदेखि बन्द रहेका पसल एक साता बित्दा पनि सरकारले माग सम्बोधन नगरेपछि बन्द नै रहेको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका हुन् । व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनका कार्यक्रमअनुसार सम्पूर्ण पसल तथा व्यवसायहरु अनिश्चितकालीन बन्द गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए । उनीहरुले सडकमा बढाइएको करको विरोध प्रदर्शन पनि गरिसकेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ झापाको नेतृत्वमा व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको अध्यक्ष विश्वकर्माले बताए । यसअघि सुनचाँदी व्यवसायीको टोलीले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागु गर्ने घोषणा गरेको थियो । बजेटमार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।

यसअघि बजेट बक्तव्यपछि दिनहुँजसो प्रदर्शनमा उत्रिएका व्यवसायीले अल्टिमेटम दिँदै असार ५ गते आन्दोलन स्थगित गरेका थिए । तर, सरकारले माग पूरा नगरेको भन्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेटमार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्न थालेको छ ।

बैंक वा होलसेल (थोक) पसलले ढिक्का सुन बेच्दा पनि २ प्रतिशतको विलासिता शुल्क लागु हुन थालेको हो ।

जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन् ।

Adv footer