
बिर्तामोड, असार २० । पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्दै गएपछि झापामा कोरोनाविरुद्धको खोप लगाइने भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।


यही असार २२ गतेदेखि ३१ गतेसम्म झापाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले झापा टुडेलाई जानकारी दिए । उनका अनुसार फाइजर खोप लगाइनेछ ।


यसैबीच, नयाँ भेरिएन्ट फैलिएयता झापामा कोरोना संक्रमणबाट १२ जना संक्रमित भएका छन् । त्यसमध्ये चारजना बिर्तामोड नगरपालिकाका रहेको कार्यालयले जनाएको छ ।


हालसम्म ६ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार बिर्तामोडका ४, मेचीनगर, कनकाई, शिवसताक्षी, भद्रपुर, बुद्धशान्तिका एकएकजनामा कोरोन पुष्टि भएको छ ।
त्यस्तै, झापामा बस्दै आएका दोलखा र इलामका तीनजना पनि कोरोना संक्रमण पुष्टि भएको हो । पहिलोपटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


त्यसपछि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट फैलिएयता कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ ।

नेपालमा कोरोनाको संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।


हालसम्म कोरोनाका २४९ जनामा कोरोना संक्रमण देखापरेको छ । गएको एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।