२०८२ असार २१ शनिबार
Jhapa Today
Adv top

नेपाली युवा उद्यमी मञ्च झापा अध्यक्षमा पौडेल


बिर्तामोड, असार २१ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाको अध्यक्षमा गणेश पौडेल चयन भएका छन् । मेचीनगरको होटल मेची क्राउनमा भएको संस्थाको दोस्रो अधिवेशनले पौडललाई अध्यक्षमा चयन गरेको हो ।

बिर्तामोडका युवा व्यवसायी पौडेल संस्थाको तेस्रो अध्यक्ष भएका हुन् । उनी मञ्च झापा शाखाको संस्थापक द्वितीय उपाध्यक्ष थिए भने हाल प्रथम उपाध्यक्ष रहेका थिए । पौडलको कार्यकाल एक वर्षको हुनेछ ।

समितिको प्रथम उपाध्यक्षमा मिजास पोखरेल र द्वितीय उपाध्यक्षमा सुरज चौधरी रहेका छन् । पोखरेल कार्यसमितिको सचिव र चौधरी कोषाध्यक्षको रुपमा रहनेछन् । उनीहरु दुवैजना बिर्तामोडका व्यवसायी हुन् ।

त्यस्तै, समितिको कार्यकारिणी सदस्यमा आयुष बजगाईं, आशिष शर्मा, उत्सव उप्रेती, विकास अग्रवाल, मनिष साहेवाला, विशाल बिमली, समाली मैनाली, निरज चौधरी, अजित ढुङ्गाना रहेका छन् ।

मञ्चका अध्यक्ष डक्टर रुपेशजंग बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा निर्वाचन अधिकृत प्रवेश बस्नेतले नयाँ कार्यसमितिको नाम घोषणा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वअर्थमन्त्री डक्टर प्रकाशशरण महत, मञ्चका राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दिपक नेपाल, बिर्तामोड अध्यक्ष राजु न्यौपाने, महिला उद्यमी संघ नेपाल झापा अध्यक्ष शर्मिला अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

झापामा दुई वर्षअघि गठन भएको मञ्चमा ५० जना युवा व्यवसायी तथा उद्यमीहरू आबद्ध रहेका छन् । सन् २००३ मा स्थापना भएको मञ्चमा देशभरिमा १४ वटा शाखा रहेका छन् । १२ औँ शाखाको रुपमा झापा शाखा स्थापना भएको हो ।

नेपाली युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च र विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य हो । त्यसैगरी, कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रबद्र्धक संस्था भएको जनाइएको छ ।

मञ्चमा आबद्ध हुनको लागि उमेरहद निर्धारण गरिएको छ । २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू मञ्चमा आबद्ध हुन सक्ने प्रावधान रहेको छ ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई व्यवसाय र उद्यमशीलताको बारेमा प्रशिक्षण तथा अवसरहरू प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको अध्यक्ष गणेश पौडेलले बताए । अध्यक्ष बेलबासेले स्वागत गरेको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य कुशल खतिवडाले गरेका थिए ।

Adv footer