बिर्तामोड, असार २१ । देशभर डेंगु संक्रमण बढिरहेका बेला झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको स्वस्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । उनको अस्पतालमा मृत्यु भएको हो ।


स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका अनुसार मृत्यु शिवसताक्षीका सुमन राईकी छोरी ११ वर्षीया सुरविरा राई रहेकी छन् । उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो ।


राईलाई स्वास्थ्यमा समस्या भएपछि बिहीबार बिएन्डसीमा भर्ना गरिएको थियो । हिजो बिहान ८ः२५ बजे उपचारका क्रममा उनको मृत्यु भएको बरालले जानकारी दिए ।


यस वर्ष पहिलोपटक झापामा डेंगुबाट मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो । मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ ।

डेंगुबाट संक्रमित हुनेहरुमा अधिकांश बिर्तामोडका रहेका छन् । फोकल पर्सन बरालका अनुसार हाल बिएन्डसीमा ४८, दमकमा १ र गौरादहमा ६ जना डेंगु संक्रमित उपचारमा रहेका छन् ।


विगतका वर्षहरु जस्तै यस वर्ष पनि डेंगुको संक्रमण बढ्दै गएको हो । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ ।

खासगरी सफा पानी जम्ने ठाउँमा डेंगु संक्रमण गराउने लामखुट्टेले फुल पार्ने हुँदा सहरी क्षेत्रका मानिसमा डेंगु संक्रमण बढी देखिने गरेको छ ।

