
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा तीनचक्के विद्युतीय सवारी साधन सिटी सफारी दुर्घटनाका घाइते अर्का एकजना व्यक्तिको मृत्यु भएको छ ।


असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


असार १५ गते बिहान १०ः३० बजे मेचीनगर-७ पालिया टोलस्थित भित्री सडकखण्डमा पूर्वपश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे. १ ह ६१०५ नम्बरको सिटी आफैँ अनियन्त्रित भएर बाटोमा पल्टिएको थियो ।


प्रहरीका अनुसार सिटी सफारीमा चढेका मेचीनगर-७ नयाँ बसपार्क बस्ने ४० वर्षीय सुदिप राजवंशी घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेलाई बिएन्डसी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो ।


दुर्घटना भएको सिटी सफारी र त्यसका चालक मेचीनगर-७ बस्ने ४५ वर्षीय नविन विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

आज बिहान मात्रै मेचीनगर १० ढाडचोकस्थित भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागरडुब्बातर्फ जाँदै गरेको सिटी सफारी अनियन्त्रित हुँदा मेचीनगर–११ बस्ने ३२ वर्षीय राज कडरियाको मृत्यु भएको थियो ।


असार महिनाको तथ्यांकलाई हेर्ने आजसम्म झापामा ५२ वटा सवारी दुर्घटना भएका छन् । त्यसमा ४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ७ वटा अटो र सिटी सफारी दुर्घटना भएका छन् ।
सिटी दुर्घटनामा दुईजनाले ज्यान गुमाएको र ८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।