
बिर्तामोड, असार २१ । झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ ।

विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि आयोजकले पुरस्कारबारे टुंगो नलागेको जनाएको छ । आयोजक झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता यही कात्तिक १५ गतेदेखि हुनेछ ।

नगरपालिकाको लगानीमा निर्माण भएको दुधे रंगशाला पूर्वकै सबैभन्दा धेरै दर्शक क्षमताको रहेको जनाइएको छ । रंगशालाको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने अध्यक्ष थोप्राले जानकारी दिए । नेपालका छ टिम रहनेछन् भने भुटान र भारतका एकएकवटा टिमले सहभागिता जनाउनेछन् ।

झापामा पुरुष फुटबल प्रतियोगिताजस्तै महिला फुटबललाई पनि ब्रान्डका रुपमा स्थापित गर्न झापा महिला गोल्डकप आयोजना गर्न लागिएको हो ।

नगरपालिकाको २५ लाख
यसैबीच, झापा महिला गोल्डकप सञ्चालनका लागि स्थानीय शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ । नगरपालिका र वडा कार्यालयहरुले २५ लाख रुपैयाँ बजेट छुट्याउने जनाएका हुन् ।
त्यस्तै, प्रतियोगिताका लागि मुख्य प्रायोजक र प्रयोजकको रुपमा औद्योगिक गृहहरुको खोजी भइरहेको अध्यक्ष थोप्राले बताए । प्रतियोगितामा जोडिन विदेशमा रहेका झापालीहरु पनि उत्सुक रहेको बताइएको छ ।
प्रतियोगिताका लागि आयोजक समिति गठन भइसकेको छ भने प्राविधिक कामको तयारी सुरु गरिएको समितिले जनाएको छ । रंगशालाको स्तरोन्नति पनि भइरहेको छ ।