
बिर्तामोड, असार २२ । झापाको झापा गाउँपालिकाको एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा निलम्बनमा परेका छन् । उनी कक्षा कोठामा विद्यार्थी कुटेका थिए ।


झापा गाउँपालिका-३ फूलगाछीस्थित फूलगाछी बिलिभर्स अंग्रेजी विद्यालयका शिक्षक बिगेन्द्र सुब्बालाई विद्यालय प्रशासनले निलम्बन गरेको जनाएको छ ।


विद्यालयमा जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी र विद्यालय प्रशासनबीच भएको छलफलमा कुटपिट गर्ने शिक्षकलाई निलम्बन गर्ने र पीडित पक्षले सुब्बालाई अन्य कानुनी कारबाही नगर्ने निर्णय भएको छ ।


त्यस्तै, कुटपिटबाट बिरामी भएका विद्यार्थीको सम्पूर्ण उपचार खर्च विद्यालय प्रशासनले व्यहोर्ने र फलोअपमा भएको खर्च पनि व्यहोर्ने सहमति भएको विद्यालयले जनाएको छ ।

त्यस्तै, विद्यार्थीलाई अन्य विद्यालयमा पठनपाठन गराए पनि एक वर्षको सम्पूर्ण शुल्क विद्यालय प्रशासनले तिरिदिने, विद्यार्थीको कक्षा ५ को सम्पूर्ण शुल्क फिर्ता गर्ने सहमति भएको छ ।


सुब्बाले कक्षा ५ मा अध्ययनरत क्रिश्चल प्रधानलाई असार ६ गते कुटपिट गरेका थिए । कुटाई खाएका विद्यार्थी घरमा पुगेर बिरामी परेका थिए । अभिभावकले सोधीखोजी गर्दा शिक्षकले सोधेको प्रश्नको उत्तर नदिँदा कुटपिट गरेको बताएका थिए ।

छोराको स्वास्थ्य अवस्था बिग्रदै गएपछि स्थानीय क्लिनिकमा उपचार गराउन जाँदा त्यहाँ सम्भव नभएपछि बिर्तासिटी अस्पतालमा १० दिन राखेर निको बनाएर घर ल्याएको विद्यार्थीका बुवा धनबहादुर प्रधानले बताए ।


उनले शिक्षक सुब्बाको कुटाइबाट छोरालाई मानसिक असर पनि परेको जानकारी दिए । कामाटोली बजारका व्यवसायी प्रधानले आफ्नो छोरालाई उक्त विद्यालयमा नपढाउने निर्णय गरेको बताए ।