२०८२ असार २२ आइतबार
Jhapa Today
Adv top

वर्षा नहुँदा झापामा रोपाइँ प्रभावित


बिर्तामोड, असार २२ । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बितिसक्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।

हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । “अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ”, उनले भने ।

डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुखेसो गरे । रोपाइँ नहुँदा बीउ पहेँलिएको छ ।

गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरे ।

मल अभाव
झापामा गत वर्षझैँ यस वर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए ।

झापामा बर्खे धान खेतीका लागि डिएपी १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए ।

मागअनुसार आपूर्ति भएको छैन । गत वर्ष मागका आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उनले बताए । गोबरको प्रयोग बढाउन सके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टले बताए ।

झापामा बर्खे धानको उत्पादकत्व हरेक वर्ष बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आर्थिक वर्ष २०७९/०८० मा चार दशमलव ८९ र गत आर्थिक वर्षमा ५ दशमलव ०५ पुगेको केन्द्रले जनाएको छ ।

जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार ५०० हेक्टरबाट घटेर ७५ हजार ४६९ हेक्टर भए पनि उत्पादकत्व भने वृद्धि भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए ।

झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।

Adv footer