२०८२ असार २२ आइतबार
Jhapa Today
Adv top

बिएन्डसीमा मुटुरोगको एक लाखसम्म निःशुल्क उपचार सेवा


बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत सो वर्गका मानिसहरूका लागि एक लाख रूपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ ।

झापामा मुटु रोगका बिरामीहरू बढ्दै गएको भन्दै आर्थिक अभावका कारण मुटुको उपचार नपाएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बिएन्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डक्टर केशव न्यौपाने र डक्टर प्रितम गच्छदारले खानपानमा ध्यान दिनसके मुटुजन्य रोगहरूबाट बच्न सकिने बताए ।

उनीहरुले विपन्न वर्गलाई दिइने एक लाख रूपैयाँसम्मको सुविधा विपन्न मुटुरोगीलाई बरदान सावित हुने जानकारी दिए ।

नेपाल सरकारको विपन्न वर्गलाई दिइने सम्पूर्ण सुविधा बिएन्डसी मेडिकल कलेजले उपलब्ध गराएको बिएन्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकारी गिरीले बताए ।

निःशुल्क सेवा लिनको लागि बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मुटुमा समस्या देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोषअन्तर्गत निःशुल्क सेवाको लागि सिफरिसका लागि अस्पतालले सिफरिसपत्र उपलब्ध गराउनेछ ।

त्यस्तै, बिरामीको परिवारको सदस्यले उक्त सिफरिसपत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफरिसपत्र पठाउनु पर्नेछ ।

स्थानीय तहको सिफारिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बिएन्डसी अस्पतालको सामाजिक सुरक्षा इकाइमा पेस गरेपछि निःशुल्क सेवा प्राप्त गर्न सकिनेछ ।

अस्पतालले यसअघि मृगौलाको हेमोडाइलाइसिस र हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम पनि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्दै आएको छ ।

Adv footer