
बिर्तामोड, असार २२ । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ ।


आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमका बीच पत्रकार भण्डारीलाई सम्मानपत्रसहित नगद एक लाख राशीको सो पुरस्कार प्रदान गरिएको हो ।


पुरस्कृत भण्डारी झापाली महिला पत्रकारहरुको छाता संस्थाको रूपमा स्थापित नारी सञ्चार गृहको पूर्वअध्यक्ष समेत हुन् भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष पनि छिन् ।


नारी सञ्चार गृह झापाले नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको सम्मानमा ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ स्थापना गरी वितरण गरेको हो ।
त्यस्तै, सम्मानपत्रसहित नगद राशी २५ हजारको युवा पत्रकारिता पुरस्कारबाट पत्रकार चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन् । घिमिरे नयाँ पत्रिका दैनिकका सम्वाददाता हुन् ।


प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृहकी संस्थापक सावित्रा दाहाल लगायतले पुरस्कृत प्रतिभालाई प्रमाणपत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

संस्थाकी सहसचिव ज्योत्सना श्रेष्ठले स्वागत गरेको कार्यक्रम नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको थियो ।


कार्यक्रमको सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् । यसैबीच, आजै नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।