२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

काँकरभिट्टामा हतियारसहित भारतीय नागरिक पक्राउ


बिर्तामोड, असार २४ । प्रहरीले सीमावर्ती सहर काँकरभिट्टाबाट एकजना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । उनी दार्जिलिङको सिलिगुडी व्यवसायी रहेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाइगुडी थाना भक्तिनगर सेवकरोड सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई आज बिहान ८ः५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु जाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्ल्युबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाएर राखेको एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो ।

त्योसँगै उनले बोकेको सानो छालाको साइड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाइल चारवटा फेला परेको थियो ।

उक्त अवैध हतियार, मोबाइल र सवारी साधनसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले बताए ।

Adv footer