
बिर्तामोड, असार २५ । झापाको गौरादहबाट एक युवक दुई प्रतिशत कमिसन खाने चक्करमा पर्दा ठगिएको भनेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका छन् ।


गौरादहका केशव ढुंगानालाई फेसबुकमा म्यासेज आएको थियो । उनले कुराकानी गर्न थाले । ‘अनलाइन जब’ को अफर आएपछि उनले स्क्यामरले भनेअनुसार ‘टाक्स’ पूरा गर्दै गए । अमेजनमार्फत मागएका सामान कुरियरमार्फत पठाउँदा लाग्ने रकम ढुंगानाको खातामा आउँथ्यो ।


उनले उक्त रकम स्क्यामरले भनेअनुसारको खातामा पठाउँथे । यसैगरी उनले झन्डै ८ लाख रुपैयाँ अरु खातामा ट्रान्सफर गरेको प्रहरीको सोधपुछमा स्वीकार गरेका छन् ।


‘मलाई खातामा आएको रकम ट्रान्सफर गरेबापत कूल रकमको २ प्रतिशत दिने भएपछि मैले स्कामरले भने अनुसार नै रकम ट्रान्सफर गरिदिएको हुँ,’ ढुंगानाले प्रहरीसामु भने, ‘मैले जानअञ्जानमा जे गरेँ, त्यो गलत गरेँ, अब मलाई कारबाहीबाट जोगाउनुहोस्, मैले रकम ट्रान्सफर गरेको खातावालालाई पक्राउ गरेर मलाई न्याय दिनुस् ।’
पीडितले जुन व्यक्तिको बैंक खातामा सुरूमा रकम पठाएका थिए, उक्त खाता ढुंगानाकै रहेको देखिएपछि प्रहरीले उनलाई सम्पर्कमा ल्याएको थियो ।


अब पीडितहरूलाई बोलएर ढुंगानाको हकमा कसरी जाने भनेर प्रहरीहरू छलफल गरिरहेका छन् । दुई महिनाको बीचमा ढुंगानाले स्क्यामरबाट एक लाख रुपैयाँ कमिसन पाए । तर, अब उनले अरु खातामा ट्रान्सफर गरेको ८ लाख रुपैयाँ पीडितहरूलाई बुझाउनुपर्ने देखिन्छ ।

कार्यालयका प्रवक्ता एवम प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार यसैगरी ठगिएँ भन्दै दैनिक १० देखि १२ जना सर्वसाधरण उजुरी लिएर आउने गरेका छन् ।


अनुसन्धान गर्दै जाँदा स्क्यामरले नेपाली नागरिकको बैंक खाता प्रयोग गरी रकम ट्रान्सफर गर्न लगाएको देखिन्छ ।
‘अधिकांशको हकमा कमिसन खाने लोभमा आफ्नो खातामा आएको रकम ट्रान्सफर गरेको देखिन्छ,’ आचार्यले भने, ‘केहीले पार्सल पाउने भन्दै विश्वासमा परेर धमाधम रकम पठाएपछि सम्बन्धित व्यक्ति सम्पर्कविहीन भएको देखिन्छ ।’