बिर्तामोड, असार २६ । झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।


स्कुटरमा रहेका कचनकवल-३ की उर्मिला राजवंशीका छोरा ७ वर्षीय आयुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


दुर्घटनामा गम्भीर घाइते आयुषको हिजो राति ९ः२५ बजे बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।


सो दुर्घटनामा अन्य दुईजनाको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार मृत्यु हुने दुवैजना चालक रहेका छन् । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक भारत किसनगञ्जस्थित दिघलबैंकका २५ वर्षीय सुरज टुडु छन् । अर्का मृतक स्कुटर चालक कचनकवल ३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् ।


उनीहरुको पौने ५ बजे प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


यसैबीच, स्कुटरको पछाडि रहेकी मृतक श्रीप्रसादको बुहारी २७ वर्षीया उर्मिला राजवंशीको पनि बिएन्डसी अस्पलाल बिर्तामोडमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था पनि गम्भीर रहेको छ ।


हिजो दिउँसो ३ः४० बजे बाह्रदशी १ खयरबारीको भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बिआर ३७ एजेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।