
बिर्तामोड, असार २६ । तस्करहरुले माई नगरपालिकाको वन क्षेत्रबाट कनकाई नदीमा बगाएर ल्याएको सखुवाको काठ माईधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीका अनुसार तस्करहरुले बगाएर ल्याएको करिब १५० किबी सखुवाको काठ माइधार प्रहरीले नियन्त्रणमा लिएको हो ।


राति १२ बजेतिर शिवसताक्षी-१० स्थित कनकाई नदीमा पानीको बहावमा चाली बनाएर तस्करहरुले बगाएर ल्याएको सखुवाको फेन्टा बरामद गरिएको हो ।


२५–३० जना तस्करहरुले बगाएर ल्याउँदै गरेको काठ नियन्त्रणमा लिन जाँदा माईधार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानपुर चौधरीको कमाण्डमा रहेको छजनाको टोलीलाई उनीहरुले लखेटेका थिए ।
त्यसपछि गैँडे सामुदायिक वन, इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप जनशक्ति मगाएर सो काठ बरामद गरिएको प्रहरी सहायक निरीक्षक चौधरीले बताए ।


चारैतिरबाट घेराउ गरेपछि तस्करहरु काठ छोडेर भागेको उनले जानकारी दिए । बिहानपख कनकाई-४ स्थित कनकाई नदीबाट सो काठ निकालिएको थियो ।


अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको काठ गैँडे सामुदायिक वनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

