२०८२ असार २६ बिहीबार
Jhapa Today
Adv top

महेन्द्ररत्नमा भूतपूर्व विद्यार्थीद्वारा गुरु सम्मान, एसइइमा उत्कृष्ट विद्यालाई नगद पुरस्कार


बिर्तामोड, असार २६ । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न मावि बिर्तामोडले गुरुपूर्णिमाको अवसर पारेर चौथो संस्करणका रुपमा शिक्षकहरुलगायत अग्रज दाताहरुलाई सम्मान गरेको छ ।

विद्यालयमा आज कार्यक्रमको आयोजना गरेर समाजले शिक्षकहरु भीष्म उप्रेती, लक्ष्मण ढकाल, ध्रवप्रसाद खरेल, शान्ता दाहाल रोक्का र श्यामकुमारी विष्टलाई सम्मान गरिएको हो ।

त्यस्तै, कार्यक्रमकै बीच विद्यालयमा खानेपानी जडान गरिदिने वीणादेवी थापालाई समेत सम्मान गरिएको छ । अक्षयकोष दाता खेमलता न्यौपानेलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा २०८१ को विद्यालय शिक्षा परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी विद्या दाहाललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

दाहालले विद्यालयको इतिहासमै पहिलोपटक ४ जिपिए ल्याएकी हुन् । उनी कक्षा ६ देखि महेन्द्ररत्नमा पढ्दै आएकी थिइन् । उनलाई नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड-३ का वडा अध्यक्ष मदन बुढाथोकी, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल, अध्यक्ष हरिचरण शिवाकोटी, सम्मानित शिक्षक लक्ष्मण ढकालले शुभकामना व्यक्त गरेका थिए ।

समाजका उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक सोमनाथ तिम्सिना रहेका थिए भने कार्यक्रमको सञ्चालक समाजका महासचिव मोहन शिवाकोटी थिए ।

कार्यक्रमका बीच पूर्वविद्यार्थी माधव सिटौला र उनकी दिदी डिल्लीमाया सिटौला उप्रेतीले अक्षयकोषका लागि नगद एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

Adv footer