
बिर्तामोड, असार २६ । झापामा लागुऔषध कारोबारी दैनिक पक्राउ परे पनि त्यसको ओसारपसार भने झन् बढिरहेको पाइएको छ । यसअघि नेपालकै सेवनकर्ताहरु मात्र पक्राउ पर्ने गरे पनि पछिल्लो समय लागुऔषधका कारोबारी भारतीय नागरिकहरु ठुलो परिमाणको लागुऔषधसहित झापामा पक्राउ पर्दै आएका छन् ।


झापामा पछिल्लो तीन दिनमा ४६५ ग्राम ब्राउन सुगरसहित चारजना कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरेर पक्राउ परेका कारोबारीहरुलाई बरामद लागुऔषधसहित सार्वजनिक गरेको छ ।


झापाका ग्रामीण नाकाहरु हुँदै लागुऔषध भारतीय कारोबारीहरु विभिन्न हुलियामा नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरु खासगरी कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकाका नाकाहरु हुँदै ब्राउनसुगरको कोरोबार गरिरहेका छन् ।


सीमावर्ती क्षेत्रका नेपालीसँगको सम्पर्क र साझेदारीमा उनीहरुले लागुऔषध नेपाल भित्र्याइरहेका छन् । हालसम्म पक्राउ पर्ने अधिकांश भारतीय नागरिकले ठुलो परिणाममा लागुऔषध ल्याउने गरेका छन् ।
हिजो राति १२ः३० बजे झापा-४ स्थित सुकुम्बासी बस्तीमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १६७ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।


भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका कनकाई-१ दुर्गापुर बस्ने ३७ वर्षीय पवन ऋषिदेवलाई साइकलको टायरभित्र ट्युमबा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।


त्यस्तै, हिजो दिउँसो ३ बजे झापा गाउँपालिका वडा नम्बर १ सुडुघुट्टीमा भारत बिहार किसनगञ्ज सिंगीमारी पञ्चायत वडा नम्बर ५ बस्ने ६० वर्षीय गबरी साहलाई लागऔषधसहित पक्राउ गरिएको हो ।


भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई शंका लागेर जाँच गर्दा उनले लगाएको ट्रयाक सुटको देब्रेपट्टिको गोजीमा ९३ ग्राम ३० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
त्यस्तै, असार २४ गते भद्रपुरमा ब्राउन सुगर कारोबारी पक्राउ गर्न गोली चलाएको थियो । गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत किसनगञ्ज बस्ने ३५ वर्षीय मनिसुर आलम र कचनकवल–५ का ५५ वर्षीय नसुरुद्दिन मिया छन् ।
हुलाकी राजमार्गमा जाँच गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । उनीहरुलाई नियन्त्रणमा लिन चाइनिज ठुलो तथा सानो पेस्तोलबाट ३/३ वटा गरी जम्मा ६ राउन्ड गोली फायर गरेको प्रहीले जानकारी दिएको छ ।
प्रहीले आलमको साथबाट दुईवटा प्लास्टिकको पोकामा १०३ ग्राम ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । त्यस्तै, मियाको साथबाट दुईवटा प्लास्टिकको पोकामा १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।