२०८२ असार २८ शनिबार
Jhapa Today
Adv top

खडेरीले रोपाइँ नहुँदा झापाका कृषक चिन्तामा


बिर्तामोड, असार २७ । धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा असार सकिन लाग्दा पनि आकाशे वर्षा नहुँदा कृषकहरु चिन्तामा छन् । सिँचाइको अभावले यो वर्ष पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सागर विष्टले हालसम्म झापामा २१ प्रतिशत मात्र रोपाइँ भएको जानकारी दिए । वर्षा नभएका कारण कृषकले पर्याप्त रोपाइँ गर्न नपाएको र हालसम्म भएको रोपाइँ कुलो र बोरिङबाट सम्भव भएको उनको भनाइ छ ।

कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठुलो वर्षा र बाढी आयो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि खेतमा रोपाइँ हुनेगरी वर्षा भएको छैन ।

झापामा खेतीयोग्य जमिन ९८ हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको विष्टले बताए । छिटो पाक्ने अगुवा धान असारभित्रै रोपिसक्नुपर्ने हुन्छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना सञ्चालनमा छन् ।

कचनकवल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशी लगायतका पालिकाको केही जग्गामा भूमिगत सिँचाइ (बोरिङ) को व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धान खेतीका लागि आकाशे पानीको निर्भरता हटेको छैन ।

झापाको अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धान खेती गर्ने कृषकहरु आकाशे पानीमा निर्भर छन् ।

विगतमा असारभित्र रोपाइँ सक्ने किसानहरु यसपालि असार बितिसक्न लाग्दा खडेरीको मारमा छन् । खेतका सुख्खा गरामा कमिला कुदिरहेका उनीहरु बताउँछन् ।

ब्याडमा बीउ छिप्पिसकेको किसानको पीडा छ । वार्षिक ठेक्कामा लिएर धान खेती गर्दै आएका कृषक झन् बढी मर्कामा परेका छन् । समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रुपमा ठेक्काबापत तिर्नुपर्ने रकमको जोहो गर्ने चिन्तामा छन् ।

Adv footer