२०८२ असार २८ शनिबार
Jhapa Today
Adv top

लम्पी स्किनबाट झापामा १० हजार पशु सङ्क्रमित


बिर्तामोड, असार २७ । झापामा लम्पी स्किन रोगको सङ्क्रमणबाट एक वर्षभित्र १० हजारभन्दा बढी गाई गोरु सङ्क्रमित भएका छन् । केही महिनायता सङ्क्रमित १४२ गाई गोरु मरिसकेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईका अनुसार रोग नियन्त्रणका लागि जिल्लाका १५ वटै पालिकामा खोप सञ्चालन भइरहेको छ । हालसम्म रोग नियन्त्रणका लागि जिल्लामा ५८ हजार गाईगोरुलाई खोप लगाइएको छ ।

जिल्लामा सबैभन्दा बढी यो रोगको सङ्क्रमण मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकामा देखापरेको उनले बताइन् । उनले गर्मी बढेसँगै लम्पी स्किन रोगको सङ्क्रमण फैलिरहेको बताइन् ।

“यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ”, उनले भनिन्, “रोग नियन्त्रणका लागि किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।”

उनले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीबाट ७७ हजार ५०० वटा खोप जिल्लामा आएको जानकारी दिइन् । त्यस्तै, केन्द्रकी प्रमुख भट्टराईले विगतमा खोप लगाएका गाई गोरुमा सो समस्या नदेखिएको बताइन् ।

उनको भनाइ छ, “पहिल्यै खोप लगाएका गाईबस्तुमा रोग देखिएको छैन, नयाँ जन्मिएका बाछाबाछी र बाहिरबाट खरिद गरेर ल्याइएका नयाँ गाई गोरुमा मात्र यसको जोखिम तीव्र मात्रामा देखिएको छ ।”

यो रोग लागेका गाई गोरुमा ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा पानी बग्ने र पाक्ने गर्दछ ।

उनले चालु आर्थिक वर्ष २०८१/८२ मा गाई भैँसीमा देखिने बाँझोपन निवारणका लागि जिल्लाका ७२ वटा फार्ममा पुगेर अवलोकन गरी एकीकृत शिविर सञ्चालन गरेको बताइन् ।

यसैगरी, सोही अवधिमा प्राकृतिक विपद्बाट पशुधनमा भएको क्षतिका १३ निवेदन आएको उनले बताइन् । सोही निवेदनका आधारमा कार्यालयले छ हजारदेखि ७८ हजार रुपैयाँसम्म राहतस्वरूप प्रदान गर्दै आएको उनले जानकारी दिइन् ।

Adv footer