२०८२ असार २८ शनिबार
Jhapa Today
Adv top

कमलको सुधार केन्द्रबाट भागिन् महिला


दमक, असार २७ । झापाको कमल गाउँपालिकामा रहेको एक सुधार केन्द्रमा रहँदै आएकी युवती भागेकी छन् । कमल-५ पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान महिला सुधार केन्द्रबाट उनी भागेकी हुन् ।

दमक प्रहरीका अनुसार सो सुधार केन्द्रमा बस्दै आएकी पाँचथर मिक्लाजुङ गाउँपालिका २ सराङडाँडा बस्ने २१ वर्षीया समीक्षा काफ्ले हिजो राति ९ः३० बजे भागेकी हुन् ।

काफ्ले भागेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ । सिसी टिभी क्यामेराको फुटेजका आधारमा काफ्ले खोजी सुरु गरिएको छ ।

सुधार केन्द्रबाट महिला भागेर बेपत्ता भएको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।

प्रहरीले उनको हुलिया सार्वजनिक गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गर्ने काफ्ले भाग्नुको कारण भने पत्ता लागेको छैन । केन्द्रका व्यवस्थापकलाई सोधपुछ सुरु गरिएको छ ।

समीक्षालाई उनका दाजु सुरेन्द्र काफ्लेले गत वर्षको भदौ १४ गते सो सुधार केन्द्रमा ल्याएर राखेका थिए । समीक्षा सुध्रिँदै आएको भए पनि भागेर हिँडेपछि अनुसन्धान भइरहेको छ ।

सो सुधार केन्द्रमा लागुुऔषध र मादक पदार्थ सेवनकर्ताहरुको उपचार हुँदै आएको प्रहरीले जनाएको छ । सुधार केन्द्रलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

Adv footer