
मेचीनगर, असार २८ । कुनै बेला नेपालको हङकङ बजारको उपमा पाएको पूर्वी नेपालको व्यस्त बजार धुलाबारी क्षेत्रका विभिन्न स्थानहरुमा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ ।

चिनिया सामग्री बिक्रीको मुख्य बजार रहेको धुलाबारीमा सुरक्षा र शान्ति कायम गराउनका लागि सिसी टिभी क्यामेरा जडानको प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

धुलाबारी बजार क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गर्नका लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षतामा एक समिति गठन गरिएको छ ।

संघकै अगुवाईमा भएको सर्वपक्षीय भेलाले समितिको उपाध्यक्षमा रविनकुमार बस्नेत र मिलनराज प्रसाईं र सचिवमा प्रकाश खड्का रहेका छन् । सदस्यहरु पछि थप गरिने बताइएको छ ।

समितिकको संरक्षकमा मेचीनगर-१० का वडा अध्यक्ष नारायण खनाल र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी रहेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीको सभाहलमा सिसी टिभी क्यामेरा जडान गर्ने विषयमा छलफल भएको हो । धुलाबारी बजारको आवश्यक सबै ठाउँहरुमा सिसी टिभी क्यामेरा जडान गरिनेछ ।
बजार क्षेत्रमा बाटो विस्तारसँगै चहलपहल बढ्ने अनुमान गरिएको छ । त्यस्तै, पछिल्लो समय बजार क्षेत्र पनि फराकिलो हुँदै गएपछि क्यामेरा जडानको पहल सुरु गरिएको हो ।
छलफलमा स्थानीय जनप्रतिनिधि, बैंक तथा वित्तीय संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।