२०८२ असार ३० सोमबार
Jhapa Today
Adv top

निगमले जित्यो चारआलीको जग्गा मुद्दा


बिर्तामोड, असार ३० । नेपाल आयल निगमले झापाको मेचीनगरमा रहेको जग्गासम्बन्धी एक महत्त्वपूर्ण मुद्दा जितेको छ ।

करिब डेढ वर्षअघि, निगमले आफ्नो २३ बिघा जग्गामा तारबार लगाउन थालेपछि स्थानीय छत्रबहादुर र रीता कार्कीले आफ्नो दुई बिघा जग्गा मिचिएको दाबी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

आइतबार, जिल्ला अदालतले कार्की दाजुबहिनीको मागदाबी नपुग्ने ठहर गर्दै निगमको पक्षमा फैसला सुनाएको हो । अदालतका अनुसार, वादी कार्की दाजुबहिनीले निगमको जग्गाभित्र आफ्नो जग्गा कुन हो भनेर प्रमाणित गर्न सकेनन् ।

साथै, अदालतको आदेशमा भएको नापजाँचबाट पनि निगमले आफ्नो स्वामित्वभन्दा बढी जग्गा नघेरेको पुष्टि भएको थियो । यही प्रमाणका आधारमा अदालतले निगमको पक्षमा फैसला गरेको हो ।

यो कानुनी विजयसँगै अब उक्त जग्गामा भारतीय आयल कर्पोरेसन आईओसीको सहयोगमा पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने र भारतको सिलिगुडीदेखि पाइपलाइन विस्तार गर्ने योजनाको बाटो खुलेको छ ।

Adv footer