
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडबाट गएको यात्रुवाहक ट्याक्सीमाथि गुडिरहेको अवस्थामा रुखले किचेको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुुसार बिर्तामोडबाट इलामको शुक्रबारेतर्फ जाँदै गरेको यात्रुवाहक ट्याक्सीमाथि आज दिउँसो १२ः३० बजे इलाम माई नगरपालिका ४ सुखानी पार्कमा रुख भाँचिएर झरेको हो ।


प्रदेश १–०१–००१ ज ४०२३ नम्बरको ट्याक्सीमाथि चिलाउने जातको रुख अचानक भाँचिएर झरेको प्रहरी चौकी लोदिया दानाबारीका प्रहरी नायव निरीक्षक सूर्य मोक्तानले बताए ।


मोक्तानका अनुसार ट्याक्सीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्याक्सीमा चालक माई १० बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलसहित नौजना रहेका थिए ।
उनीहरु सकुशल रहेको मोक्तानले झापा टुुडेलाई जानकारी दिए । ट्याक्सीमाथि रुख लडेपछि एकतर्फी मात्र सञ्चालनमा रहेको बाटो खुलाइएको छ ।


प्रहरी नायव निरीक्षक मोक्तान नेतृत्वको प्रहरी र ट्राफिक प्रहरीको टोलीले बाटो पूर्णरुपमा खुलाएको इलाम प्रहरीले जानकारी दिएको छ ।

