२०८२ असार ३० सोमबार
Jhapa Today
Adv top

सहारा साकोसका कर्मचारीलाई अभद्र व्यवहार गर्नेविरुद्ध जाहेरी


बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि भएको दुर्व्यवहारविरुद्ध जाहेरी दर्ता भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका २ रचनाटारमा संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेविरुद्ध आज कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएका हुन् ।

घटनालगत्तै सहारा नेपालका पीडित कर्मचारीले अभद्र व्यवहारमा संलग्न मिक्लाजुङ-२ रचनाटार निवासी ४२ वर्षीया दुर्गामाया लिम्बू, सोही ठाउँकी ३३ वर्षीया माया मगरलगायतलाई कानुनी कारबाहीको माग गर्दै जाहेरी दिइएको छ ।

उनीहरुले झापा भद्रपुर–१० घर भई हाल मिक्लाजुङ–९ मधुमल्ला सेवाकेन्द्रमा कार्यरत कर्मचारी ४२ वर्षीय रमेश राई र सोही सेवा केन्द्रमा कार्यरत कर्मचारी ३७ वर्षीया सुशीला लामिछाने विश्वकर्मामाथि अभद्र व्यवहार गरेका थिए ।

लिम्बू र मगरलगायतले अभद्र व्यवहार गर्दै सुशीलालाई जुत्ताको माला लगाइदिएका थिए भने राईलाई धकेल्दै जुत्ताको माला लगाउने पटकपटक प्रयत्न गरेका थिए ।

ऋण असुलीका लागि तागेता गर्न जाने क्रममा उनीहरुमाथि अभद्र व्यवहार भएको हो । ऋण असुलीका लागि पुगेका उनीहरुमाथि सुरुमा गाली गलौज भएको र पछि जुत्ताको माला लगाइएको थियो ।

ऋण असुलीका लागि पुगेका कर्मचारीले ऋणीलाई पटकपटक सम्झाएको र उनीहरुको कुरा नसुनी उल्दै कर्मचारीलाई जुत्ताको माला लगाइदिएको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको छ ।

यसैबीच, सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् ।

उनले यस्ता अवान्छित क्रियाकलावले कर्मचारीको मनोबल गिराउने र सिङ्गो सहकारी एवम् वित्तीय क्षेत्रलाई तहसनहस गर्ने भएको हुँदा दुर्व्यवहार गर्ने पक्षलाई हदैसम्मको कारबाहीको माग गरेका हुन् ।

घटनाको विषयलाई लिएर एकीकृत कर्मचारी संगठनले समेत विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेको छ । संगठनका अध्यक्ष यादवप्रसाद घिमिरेले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् । उनले भिडियो सामग्री सार्वजनिक गर्नेलाई समेत कारबाहीको माग गरेका हुन् ।

Adv footer