२०८२ असार ३१ मंगलबार
Jhapa Today
Adv top

झापामा सडक दुर्घटनामा तीनजना घाइते


बिर्तामोड, असार ३१ । झापाका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । सबै घटनाहरु साँझ र राति भएका हुन् ।

प्रहरीका अनुुसार दमक–३ गोलाटारस्थित भित्री सडकखण्डमा शान्तिचोकबाट गोलाटारतर्फ जाँदै गरेको मे.१ त ५८९३ नम्बरको ट्रयाक्टरको बायाँपट्टिको चक्काको टायर पड्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टरका सहचालक मोरङ मिक्लाजुङ–९ बस्ने २६ वर्षीय अमित श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ घुँडामा चोट लागेको छ ।

घाइतेको विराट टिचिङ अस्पताल विराटनगर उपचार भइरहेको छ । ट्रयाक्टर घटनास्थलमै रहेको र ट्रयाक्टर चालक दमक ३ बस्ने ३८ वर्षीय पूर्ण चापागाईं भागेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, गौरीगञ्ज ५ चिल्हारास्थित हुलाकी सडकमा चिल्हाराबाट गौरीगञ्जतर्फ आउँदै गरेको बिआर ३७ एल ५२१३ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गौरीगञ्ज ६ खजुरगाछी बस्ने ५० वर्षीया होमा कार्की घाइते भएकी छन् । टाउकोमा चोट लागेर घाइते भएकी कार्कीलाई न्युरो अस्पताल विराटनगर पठाइएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक भारत किसनगञ्ज तिनिनाथ बस्ने ४२ वर्षीय सन्तोषकुमार सिंहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, गौरादह–२ धोबिनिया चोकस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा गौरादहबाट जुरोपानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ९५७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ ।

दुर्घटनामा गौरादह–३ बस्ने ७५ वर्षीय राधो कर्मकार घाइते भएका छन् । निधार, बायाँ खुट्टामा चोट लागेका कर्मकारको मेडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक गौरादह–८ बस्ने ३५ वर्षीय दिलिप राजवंशीलाई इलाका प्रहरी कार्यालय गौरादहले मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।

Adv footer