२०८२ असार ३१ मंगलबार
Jhapa Today
Adv top

बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती


मेचीनगर, असार ३१ । झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा हात्तीको उपद्रो रोक्न कागती खेती सुरु गरिएको छ । क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयबासीलाई कागतीका बिरुवा वितरण गरिएको छ ।

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।

हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ । जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आएपछि कागती खेती सुरु गर्न लागिएको हो ।

कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराइएको श्रेष्ठले बताए ।

मेचीनगर–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडा अध्यक्ष अर्जुन कार्कीले बताए ।

हात्तीले सुपारीका बोट भाँचेर ठुलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उनको भनाइ छ ।

उनका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन् ।

वडा कार्यालयले प्रतिपरिवार दुईदेखि २५ वटासम्म कागतीको विरुवा स्थानीयबासीलाई वितरण गरेको छ । भारतबाट जङ्गली हात्ती प्रवेश गर्ने पहिलो नाकाका रूपमा बाहुनडाँगी परिचित छ ।

हात्ती नियन्त्रण र बाली जोगाउनका लागि १० वर्षदेखि सीमावर्ती र जङ्गल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिँदै आएको छ ।

यसका साथै, हात्तीले नखाने बालीका रूपमा तोरी र चियाखेती पनि व्यापक मात्रामा हुँदै आएको छ । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयबासीले सुरक्षाका लागि मौरीपालन पनि गर्दै आएका छन् ।

Adv footer