
भद्रपुर, असार ३१ । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने भएको छ । नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औँ संस्करणअन्तर्गत भद्रपुरमा पहिलोपटक मनाउने लागिएको हो ।


भद्रपुर साइकल समाज झापाको आयोजनामा यही साउन ३ गते प्रथम संस्करणको ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुन लागेको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।


भद्रपुर नगरको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेट्दै गरिने साइकल आध्यात्मिक यात्राले भद्रपुरको पर्यटकीय सम्भावना र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।


’यो आध्यात्मिक यात्रा हो, तीर्थस्थल दाहिने पारेर एक फन्को मार्नु कोरा हो,’ अध्यक्ष श्रेष्ठले भने, ’यो कुनै रेस वा र्याली होइन, यहाँ सबैले जित्ने, सबैका लागि रमाइलो र स्वस्थ समाजका लागि पर्यावरण मैत्री उत्सव हो, यो कोरा च्यालेन्ज हो ।’
भद्रपुर कोरा च्यालेन्जमा १२५ जना सहभागी हुनेछन्, जसमा तीनजना महिला सहभागी हुने उनले बताए । यात्रा ५० किलोमिटर दूरीको रहनेछ ।


भद्रपुर नगरपालिकालगायत विभिन्न संघसंस्थाको सहकार्यमा धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रमापछि समापन हुने कार्यक्रममा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहको उपस्थिति रहनेछ ।


त्यस्तै, अग्रज साइकल राइडरलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । साइकल राइड महेन्द्रपार्क चन्द्रगढीबाट सुरु भई भद्रपुर–१० स्थित काली मन्दिर र दुर्गा पाञ्चायन मन्दिर, भद्रपुर–९, ८, ५, ४, ३ र १ नम्बर वडा कार्यालय परिसरको शिव मन्दिर हुँदै कमलधाप धार्मिकस्थल बीचबाट आमाचोक गौरीशंकर बस्ती ज्ञानेचोक–गार्मेण्टचोकबाट वीरेन्द्र मावि छेउबाट मेची रङ्गशालामा आएर टुंगिनेछ ।

