
बिर्तामोड, असार ३२ । टेलिभिजन रियालिटी सो मेरो डान्स युनिभर्स सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टप १० मा पुग्न सफल झापाकी सुसाना कोइरालालाई थप अघि बढाउन भोट अपिल गरिएको छ ।


अर्जुनधारा-५ घर भई बिर्तामोडस्थित गुरुकुल नृत्य तथा संगीत विद्यालयकी विद्यार्थी रहेकी सुसानालाई भोट अपिल गर्दै परिवारका सदस्य, गुरु तथा शिक्षकले विशेष आग्रहसहित पत्रकार सम्मेलनमार्फत समर्थन जुटाउन आह्वान गरेका हुन् ।


गुरुकुलकी संस्थापक कमला नेम्वाङ, सुसानाकी आमा सानु श्रेष्ठ र बिर्तामोडको मोहनमाया माविका शिक्षक मुकुन्द ढकाल, संगीत गुरु तथा संगीत समाज झापाका अध्यक्ष दिपक रायमाझीलगायतले पत्रकारकार सम्मेलनमा सुसानालाई थप अघि बढाउनका लागि भोट गरेर सहयोग गर्न आग्रह गरे ।


गुरुकुलको ‘गहना’
गुरुकुल नृत्य तथा संगीत विद्यालयकी फाउन्डर कमला नेम्वाङले सुसानालाई विद्यालयको ‘गहना’को संज्ञा दिइन् । उनले भनिन्, “सुसाना प्रारम्भमा संगीत सिक्न आएकी थिइन्, तर उनले नृत्यमा जुन समर्पण र निरन्तरता देखाइन्, त्यो जो काहीले देखाउन सक्दैनथ्यो । सुसाना केवल विद्यार्थी होइनन्, ऊ एउटा प्रेरणा बनिसकेकी छिन् । उनको कलालाई देशको सम्पत्तिको रूपमा लिनुपर्छ ।“

नेम्वाङले सुसानाको मेहनत, अनुशासन र आत्मविश्वास यहाँसम्म पुर्याएको र अब उसलाई थप सहयोगको आवश्यकता रहेको बताइन् । उनले भोटिङमार्फत टप ८ मा पुर्याउन देश–विदेशका नेपालीहरूलाई अपिल गरिन् ।


नृत्यमा मात्र होइन, पढाइमा पनि अब्बल
सुसाना बिर्तामोडको मोहनमाया माविमा इन्जिनियरिङ अध्यनरत छिन् । विद्यालयका शिक्षक मुकुन्द ढकालले सुसानाको शैक्षिक पृष्ठभूमि उजागर गर्दै भने, “सुसाना हाम्रो विद्यालय मोहनमाया माविकी होनहार छात्रा हुन् । उनी भाषण, अध्ययन, नृत्य जस्ता हरेक क्रियाकलापमा सधैँ अगाडि थिइन् । अब्बल विद्यार्थी भएकै कारण अहिले उनी शतप्रतिशत छात्रवृत्तिमा इन्जिनियरिङ पढिरहेकी छन् ।“

आमाको सपना, छोरीको संघर्ष
पत्रकार सम्मेलनमा सुसानाकी आमा सानु श्रेष्ठले भावुक हुँदै भनिन्, “छोरी सानैदेखि नृत्यप्रेमी थिई । स्कुलका सबै कार्यक्रममा ऊ अग्रसर हुन्थी । ऊ डान्सकै माध्यमबाट चिनिन चाहन्थी, त्यो सपना अहिले साकार बन्दैछ । तर त्यो सपना पूरा गर्न अब सबैको साथ चाहिएको छ ।“


उनका अनुसार सुसानाले प्रतियोगितामा ‘फ्याक्जिबिलिटी क्विन’ को उपाधि पनि जितिसकेकी छन् । टप १० मा छनोट भएर टप ८ प्रवेशको सञ्जालमा रहेको यो घडीमा, आमाले सबै अभिभावक, दर्शक र नेपाली जनसमुदायसँग छोरीको सपना साकार पार्न भोटमार्फत सहयोग गर्न आग्रह गरेकी छन् ।
सुसानाको पक्षमा पत्रकार सम्मेलनमार्फत गरिएको अपिलमा सहभागी अन्य वक्ताहरू संगीत समाज झापाका अध्यक्ष दिपक रायमाझी, व्यवसायी प्रभात मानन्धर, सानिआमा सन्जु ताम्राकार र व्यवसायी लीला खत्रीले पनि सुसानाको सफलता व्यक्तिगतभन्दा पनि सामुदायिक र राष्ट्रिय सम्मानको विषय भएको उल्लेख गरे ।
रायमाझीले भने “यस्ता नानीहरू बारम्बार जन्मिँदैनन् । सुसाना केबल बिर्तामोडको होइन, सिंगो देशकै चेली हुन् । उनलाई अघि बढाउन अब हामी सबैको भोट आवश्यक छ ।”
भोटिङ समय र प्रक्रिया
सुसानालाई टप ८ मा पुर्याउन आयोजकले तय गरेको भोटिङको समय असार ३० गते राति १० बजेबाट साउन १ गते बेलुका ६ बजेसम्म भोट गर्न सकिनेछ ।
भोट गर्नका लागि दुई तरिका अपनाउन सकिन्छः
- मोबाइलबाट:
MDU 12
टाइप गरी 37000 मा SMS पठाउने। - MY INTRA एपमार्फत:
एप डाउनलोड गरी सुसाना कोइरालाको प्रोफाइलमा गएर Vote गर्ने।