बिर्तामोड, असार ३२ । झापाको दमकमा भएको सडक दुर्घटनामा घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा दमक-१० जहदा टोलका ७७ वर्षीय देवबहादुर श्रेष्ठ रहेका छन् । उनलाई असार २९ गते राति ०८ः३० बजे स्कुटरले ठक्कर दिएको थियो ।


श्रेष्ठलाई जहदा टोलको भित्री सडक खण्डमा मे.७ प ३७८९ नम्बरको स्कुटर ठक्कर दिएको थियो । प्रहरीले स्कुटर चालक तेह्रथुम म्याङलुङ घर भई हाल दमक-१० बस्ने थुमनारायण खापुङको छोरा १६ वर्षीय अर्चन खापुङलाई नियन्त्रणमा लिएको छ ।


दुर्घटनामा श्रेष्ठको टाउकोमा चोट लागेको थियो भने दाहिने हात भाँच्चिएको थियो । त्यस्तै, दुबै खुट्टा, अनुहारमा चोट लगेको प्रहरीले जनाएको छ ।

ठक्करपछि श्रेष्ठ बोल्न नसक्ने भई गम्भीर भएका थिए । उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा सामान्य उपचारपछि थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो ।


उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा हिजो घर लाने क्रममा अवस्था गम्भीर देखिएपछि पुनः दमक अस्पतालमा इसिजी गराउँदा राति ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
