
बिर्तामोड, असार ३२ । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण गरेको छ ।


आज नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी लगायतले उनीहरुलाई धनीपुर्जा प्रदान गरेका थिए ।


कार्यक्रममा १२८ जनालाई जग्गाको प्रमाणपुर्जा प्रदान गरिएको नगरप्रमुख बलदेव गोम्देनले जानकारी दिए । अर्जुनधारा-११ स्थित लक्ष्मीधाप टोलअन्तर्गतका स्थानीयबासीलाई धनीपुर्जा वितरण गरिएको हो ।


गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी उक्त क्षेत्रका लाभग्राहीलाई आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो ।

सोअनुसार कागज पुर्याएर प्रक्रिया पूरा गरेका १२८ जना लाभग्राहीलाई धनीपुर्जा वितरण गरिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले बताइन् ।

