२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

कोटिहवनमा साउनको सोमबार विशेष पूजा र कनकाई आरती हुने


बिर्तामोड, साउन २ । झापाको कनकाई–४ मा रहेको कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको छ ।

कनकाई धाम धार्मिक विकास संस्थाको आयोजनामा श्रावण महिनाको विशेष अवसरमा रुद्राभिषेक तथा पूजाआर्चना कार्यक्रम गर्न लागिएको धाम परिसरमा आयोजित पत्रकार सम्मेलनमा धामका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिए ।

कन्केश्वर महादेवको पवित्र मन्दिर रहेको कनकाई धामले नेपाल, भारत, भुटान लगायत देश–विदेशका श्रद्धालु भक्तजनलाई आध्यात्मिक शान्तिको अनुभूति गराउँदै आएको धामकका अध्यक्ष शेरबहादुर थापाले बताए । यस वर्ष पनि बोलबम पर्वलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको हो ।

पवित्र कनकाई नदीबाट जल ल्याएर कनकेश्वर शिवलिङ्गमा जलार्पण गर्ने, ब्राह्मण तथा बटुकहरुद्वारा वैदिक विधिमा रुद्राभिषेक, रुद्री पाठ, हवन तथा विशेष पूजन गरिने, साँझ ६ बजे कनकाई आरती तथा प्रसाद वितरण गरिने, स्थानीय कलाकार तथा भजन मण्डलीद्वारा भजन–कीर्तन, कार्यक्रम अवधिभर शिव स्तुति तथा मन्त्रोच्चारण गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक थापाले बताए ।
त्यस्तै, स्वयमसेवकमार्फत भक्तजनको सुरक्षाको व्यवस्था, पिउने पानी र मन्दिर सरसफाइ लगायतका कार्य गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विशेष पूजामा कर्ताका रुपमा सहभागी बन्न इच्छुक श्रद्धालु भक्तजनहरुले संस्था अध्यक्ष शेरबहादुर थापा, कार्यक्रम संयोजक प्रकाश थापा वा कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउन सकिने धामले जनाएको छ ।

कार्यक्रममा धामका सल्लाहकार सदस्य चन्द्र मैनाली भतिजले गत वर्षझैँ त्यस वर्ष पनि बोलबमको अवसरमा भव्य रुपमा धार्मिक अनुष्ठानहरु गरिने बताए ।

धामको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले भक्तजन भित्र्याउन सर्वपक्ष पहल आवश्यक रहेको उल्लेख गरे । श्रावणी पर्वको अवसरमा विशेष भजन कीर्तनको आयोजना गरिनेछ ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्दै धामका वरिष्ठ उपाध्यक्ष निर्मल कुमार खतिवडाले भगवान शिवको प्रिय महिनाको रुपमा रहेको साउन महिनामा विशेष पूजा आर्चना गर्न लागिएको बताए ।

धामका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य धनपति चापागाईंले गरेका थिए ।

योपटक करिब ५० हजार भक्तजनहरूले कोटिहवनको दर्शन गर्ने आयोजकले अनुमान गरेको छ । कनकाई धार्मिक विकास संस्थाले साउन महिनामा आएर जल चढाउन तथा प्रत्येक सोमबार हुने कनकाई आरतीमा सहभागी भइदिनेका लागि सम्पूर्ण भक्तजनहरुमा अनुरोध समेत गरेको छ ।

Adv footer