२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडबाट सवा दुई लाख ट्याब्लेट लागुऔषध बरामद


बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषध झन्डै सवा दुई लाख ट्याब्लेट क्याप्सुल रहेको सार्वजनिक गरेको छ ।

आज इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रहरीले हिजो बिहान ११ बजे बरामद गरिएको विभिन्न छ प्रकारका औषधिजन्य लागुऔषध सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल र ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० एम्पुल बरामद गरेको छ ।

त्यस्तै, ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट र टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट बरामद गरिएको छ ।

बिर्तामोड प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट औषधिजन्य लागुऔषध बरामद गरेको थियो । बरामद लागुऔषको मूल्य भने थाहा नहुने प्रहरीले जनाएको छ ।

अर्जुनधारा–११ नारायणचोकको दंगाल मार्केटमा रहेको सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलकै स्वमित्वमा रहेको गोदामबाट औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

खरेलले मिनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा कोठामा बरामद लागुऔषध भण्डारण गरेको बिर्तामोड प्रहरीका एकजना जुनियर अधिकृतले जानकारी दिए ।

प्रहरीले लागुऔषधसँगै पक्राउ परेका अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पनि सार्वजनिक गरेको छ । उनको साथबाट एकथान मोटरसाइकल र दुईवटा मोबाइल फोन समेत बरामद गरिएको प्रहरलिे जनाएको छ ।

स्थानीयबासीले लागुऔषधको ठुलो कारोबार हुने गरेको थाहा पाएलगत्तै प्रहरीसँगको समन्वयमा छापा मार्दा ठुलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद भएको हो ।

Adv footer