
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोडमा सन् २०२५ को झापा कोरा च्यालेन्जमा ३१५ जनाले यात्रा पूरा गरेका छन् । यात्रामा छ वर्षदेखि ६५ वर्ष उमेर समूहका महिला तथा पुरुष राइडरहरु सहभागी थिए ।

आज शनिबार ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर ३१५ जना साइकल राइडरहरुले यात्रा पूरा गरेका हुन् ।

झापामा छैटौँ संस्करणका रुपमा प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज भएको राइडका संयोजक आकाश श्रेष्ठले जानकारी दिए ।

झापाका चार पालिका बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति र मेचीनगरको बाटोमा यात्रा गर्दा पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको अगुवा साइक्लिस्ट पूर्ण गौलीले बताए ।

झापाको बिर्तामोड आँखा अस्पतालबाट निस्किएको टोली अर्जुनधारा जलेश्वरधामको एक फन्को लगाएर मदनपुर–साधुटार–होक्से–बुधबारे–मागुरमाडी–बाँसबारी सिमसार क्षेत्र–सालबरी हुँदै इन्द्रेणी पार्टी प्यालेस बिर्तामोडमा आएर समापन भएको थियो ।

यात्राको मुख्य प्रायोजक लेजर भिजन रिफ्राक्टिभ सर्जरी सेन्टर बिर्तामोड रहेको थियो । त्यस्तै, हिमालयन एभरेस्ट इन्स्युरेन्स, बिएन्डसी हस्पिटल, सनसाइन भिल्ला फिक्कल, इन्द्रेणी ब्यांक्वेट, निर्माण व्यवसायी कुमार गिरी, ऋतिका डेरी, रोट्रयाक्ट क्लब अफ बिर्तामोड, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिड टाउन, बुद्धशान्ति राइडर्स, होटल रोयल रत्न, गोमेन्द्र बिर्ता मोडल स्कुल, देही आर्ट लगायत संस्थाको विशेष सहयोग रहेको थियो ।
यात्रामा बिर्तामोड, मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बाह्रदशी, अर्जुनधारा, कनकाईका साथै इलाम र भारतका राइडरहरुले सहभागिता जनाएका थिए । सहभागी सबैलाई मेडल प्रदान गरिएको थियो ।
यो वर्ष राइडरहरुले स्वेच्छाले प्रदान गरेको रकमबाट पूर्वको पशुपतिनाथले चिनिएको अर्जुनधारा धाममा साइकल स्ट्यान्ड बनाइनेछ । कम्तिमा २० वटा साइकल क्षमताको स्ट्यान्ड निर्माणका लागि एक लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
बिर्तामोडमा भएको छैटौँ संस्करणको झापा कोरा २०२५ नेपालकै ठुलोमध्येको साइकल कार्यक्रम हो । काठमाडौँ उपत्यकाबाहिर झापामा सर्वाधिक साइक्लिस्ट सहभागी हुने गरेका छन् ।
कोरा राइडको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, झापा जिल्ला खेलकुद विकास समिितका अध्यक्ष प्रशान्त भण्डारी, खेलप्रेमी सुवास भट्टराई लगायतले गरेका थिए ।
तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।