२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

मनसुन सक्रिय हुँदै, वर्षाको सम्भावना


बिर्तामोड, साउन ५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार देशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ।

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ । 

साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

Adv footer