२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

झापाबाट गत वर्ष १,६५१ केजी गाँजा बरामद


बिर्तामोड, साउन ५ । प्रहरीले झापाबाट गत आर्थिक वर्षमा डेढ हजार केजीभन्दा बढी गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गाँजाको ओसारपसार र तस्करी नियन्त्रण गर्न रणनीतिक रुपमा अघि बढेको प्रहरी प्रशासनले पछिल्लो एक वर्षमा ऐतिहासिक रूपमा गाँजा बरामद गरेको हो ।

झापाबाट १ हजार ६५१ केजी गाँजा बरामद भएको प्रदेश प्रहरी स्रोतको भनाइ छ । त्यस्तै, सुनसरीबाट मात्रै १२ हजार ३७५ केजी, मोरङबाट ६ हजार ६५० केजी, धनकुटाबाट ४ हजार १९४ केजी र उदयपुरबाट १ हजार ८१० केजी गाँजा बरामद भएको छ ।

लागुऔषध ऐनले निषेध गरेको गाँजाको खेती, भण्डारण, ओसारपसार र बिक्री कानुनी दृष्टिले अपराध हो । तर, कोशी प्रदेशका पहाडी जिल्लाहरूमा संगठित रुपमा गाँजाको खेती हुँदै तस्करी भइरहेको तथ्यांकले देखाउँछ ।

विशेषगरी धनकुटा, भोजपुर र उदयपुर जिल्लामा गाँजाको खेती व्यापक छ भने त्यसलाई तराईको सुनसरी, मोरङ, र झापाजस्ता जिल्लाबाट भारततिर निकासी गर्ने क्रम तीव्र बन्दै गएको छ ।

तस्कर समूहले एम्बुलेन्स, ट्यांकर, यात्रुबाहक बस, मोटरसाइकल र निजी कारमा लुकाएर गाँजा ओसारपसार गर्दै आएका छन् । कतिपय अवस्थामा सवारीसाधनमा विशेष च्याम्बर बनाइने गरेको छ । स्थलमार्गबाट प्रहरीको निगरानी कडा भएपछि जलमार्गको प्रयोगसमेत सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

नेपालमा प्रतिकेजी १० हजार रुपैयाँसम्ममा किनबेच हुने गाँजा भारत पुर्‍याएपछि सो मूल्य दोब्बरभन्दा बढी हुने भएकाले तस्करहरू उच्च जोखिम मोलेर पनि कारोबारमा लागिरहेका छन् ।

Adv footer