
बिर्तामोड, साउन ६ । प्रहरीले झापाको भद्रपुरबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । उनीहरु आज बिहान ८ बजे पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका श्रीमानश्रीमती र भद्रपुरका एकजना युवा रहेका छन् । उनीहरुलाई भद्रपुर ७ डाँफेचोकबाट पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा बाटोमा हिँडिरहेका नुवाकोट तादी-६ का ३० वर्षीय मनकुमार दर्जी, उनकी श्रीमती २६ वर्षीय शशि खत्री र भद्रपुर-७ डाँफेचोकका ३० वर्षीय सुनिल चापागाईं पक्राउ परेका हुन् ।
उनीहरुमाथि शंका लागेर जाँच गर्दा भारतबाट लुकाएर ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
