
बिर्तामोड, साउन ७ । मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्राध्यापक व्यवस्थापनको विषय विवादित बनेको छ । प्राध्यापक, विद्यार्थी संघ संगठनले सो विषयमा विज्ञप्तिबाजी गरिरहेका छन् ।

क्याम्पसमा कार्यरत आशिक प्राध्यापकहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा अवलम्बन गरिएको पद्धति र प्रक्रिया बेठिक भएको प्रक्रिया आएको छ । सो घटनाप्रति नेपाल प्रगतिशील प्राध्यापक संगठनले विज्ञप्ति जारी गर्दै असहमति प्रकट गरेको छ ।

क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई व्यवस्थापन गर्ने कममा त्रिभुवन विश्वविद्यालयमा कायम रहेको जेष्ठताक्रमको मर्यादालाई खण्डित गरी स्वेच्छाचारी ढंगले कार्यविधि निर्माण गरेर शिक्षक व्यवस्थापन गर्ने प्रयास गरिएको छ, त्यो पूर्णत त्रुटिपूर्ण रहेको छ, विज्ञप्तिमा भनिएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनले कार्यविधि निर्माण गर्दा सरोकारवालाहरूसँग आवश्यक छलफल नगरिएको, मानव शास्त्रका लागि स्वीकृत दुई तथा कम्प्युटर विज्ञानका लागि स्वीकृत पाँच दरबन्दी वा अनुमतिलाई मनोमानी ढंगले अपचलन गरी अन्य विषयमा स्थानान्तरण गर्नु, कार्यविधिमा परीक्षार्थीको उत्तीर्णाङ्ग उल्लेख नहुनु, जेष्ठता क्रमलाई बेवास्ता गरी परिणाम प्रकाशित गर्नु बीचमा सेवा खण्डित भएका आंशिक प्राध्यापकहरूलाई अवैधानिक ढंगले अभिछिन्नता कायम गरी ज्येष्ठता कायम गरिनु, अन्तरवार्ता चलिरहँदा अनधिकृतति व्यक्ति प्रवेश गरी परीक्षार्थी लाई अनावश्यक प्रश्न गरी मनोवैज्ञानिक रुपमा त्रास सिर्जना गर्नु लगायतका विषयमा आपत्ति जनाएको छ ।

उक्त प्रक्रिया पूर्णत त्रुटिपूर्ण र अवैधानिक रहेको दाबी गर्दै संगठनले वैकल्पिक उम्मेदवारहरूलाई १० दिनभित्र व्यवस्थापन गर्नुपर्ने र आंशिक नियुक्तिको सुरुको मितिलाई आधार मानेर ज्येष्ठता कायम गरी नियुक्ति दिनुपर्ने, हाजिरी खातामा सोही अनुसार ज्येष्ठता कायम गर्नुपर्ने माग अघि सारेको नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस समितिका अध्यक्ष विनोद शाहले जानकारी दिए ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस समितिको धारणामा अनेरास्ववियुले समेत ऐक्यबद्धता जनाएको छ ।
यस्तै, मेची बहुमुखी क्याम्पस प्राध्यापक संघले ३ जना शिक्षकहरू समावेश हुन नसकेको विषयलाई विज्ञप्तिमार्फत सार्वजनिक गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले भनेको छ, आंशिक शिक्षक व्यवस्थापनको लागि माग गरे बमोजिम पदपूर्ति प्रक्रिया सम्पन्न गर्ने क्रममा विभिन्न विषयका ३ जना शिक्षकहरू समावेश हुन नसकेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।
संघले वैकल्पिक शिक्षकका रुपमा छनौट हुनुभएका कार्यरत शिक्षकहरूको निरन्तर योगदान र आवश्यकताको सम्मान गर्दै उहाँहरूलाई पनि क्याम्पस प्रशासनले यथाशीघ्र प्रक्रिया पुरा गरी सम्पूर्ण शिक्षकहरूको सम्मानपूर्ण व्यवस्थापन गर्न जोडदार माग गरेको छ ।