
बिर्तामोड, साउन ७ । झापाका पत्रकार उद्धव पुरीलाई डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ । आज पुरी परस्कारबाट पुरस्कृत भएका हुन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को नामबाट स्थापना गरेको डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि ४२ हजार रुपैयाँ रहेको छ ।

बिर्तामोडबाट प्रकाशित शब्दपत्र डटकमका सञ्चालक सम्पादक पुरी दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी यसअघि ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध थिए ।

२०५९ साल साउन ७ गते आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाल तत्कालीन शाही नेपाली सेनाले गरेको कारबाहीमा मारिएका थिए । जनपक्षीय पत्रकार आचार्यको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीले पुरस्कार पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रञ्जीत तामाङ, माओवादी केन्द्र कोशी प्रदेश उपाध्यक्ष विजय साम्पाङ, प्रेस सेन्टर नेपालका नेता दिपिन राई, देवकुमार आचार्य (डि कौडिन्य) को पत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रञ्जीत प्रसाईंलगायत शुभकामना राखेका थिए ।

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने प्रकाश उप्रेती र राजन साम्पाङले सञ्चालन गरेका थिए ।