
बिर्तामोड, साउन ७ । झापा इनर्जी लिमिटेडले यही साउन १४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ३७ हजार २१९ कित्ता आइपिओ जारी गर्न लागेको हो ।

कम्पनीले गत असार ३१ गते प्रति सेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता आइपिओ जारी गर्न लागेको हो ।

त्यस्तै, आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रबाहेकको बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आइपिओ जारी गर्न लागेको हो ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्कासन बन्द छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते हनेछ ।

वैदेशिक रोजगारीमा रहेका लागि भने आइपिओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते हुनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले हिमालयन बैंकको दुधे शाखा, दमक शाखा १ र २, सुरुंगा शाखा, माछापुच्छ्रे बैंकको सुरुंगा र दमक शाखा र झापा इनर्जीको आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आइपिओ जारी गर्नेछ ।