२०८२ साउन ७ बुधबार
Jhapa Today
Adv top

भद्रपुरका राई र दाहाल यु-१७ राष्ट्रिय टिमको अन्तिम ३५ मा छनोट


बिर्तामोड, साउन ७ । झापा भद्रपुरका दुईजना खेलाडी १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीको प्रारम्भिक सूचीमा परेका छन् ।

आगामी भदौमा भुटानमा आयोजना हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नामावली सार्वजनिक गर्दा उनीहरु ३५ जनाको सूचीमा परेका हुन् ।

भद्रपुर झापा गोल्डकपले सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रबाट प्रतिनिधित्व गर्दै सबनम राई र कृपा दाहाल अन्तिम ३५ मा पर्न सफल भएका हुन् ।

उनीहरुका प्रशिक्षक भरतचन्द्र गुरुङका अनुसार अत्यन्त मेहनती दुवै खेलाडी देशभरका ३५० जनाभन्दा बढी खेलाडीबाट छनोट भएका हुन् ।

हेटौँडाको गौरीटार रंगशालामा मंगलबार सम्पन्न गरेको छनोट क्याम्पमार्फत भद्रपुरका राई र दाहाल छनोट भएको गुरुङले झापा टुडेलाई जानकारी दिए ।

कोशी प्रदेशबाट तीनजना छनोट हुँदा राई र दाहाल ३५ जनाको सूचीमा पर्दै यु-१७ को प्रारम्भिक टोलीमा छनोट भएका छन् ।
छनोटमा परेका ३५ खेलाडीलाई एन्फाले बन्द प्रशिक्षणका लागि समेत बोलाएको छ ।

खेलाडीहरूलाई साउन ८ गते साँझ ६ बजेसम्म मकवानपुरस्थित रेगल हेटौँडा रिसोर्टमा अनिवार्य रूपमा उपस्थित हुन भनिएको छ । सो अवसरमा सक्कल नाबालक परिचयपत्र र पासपोर्ट अनिवार्य रूपमा साथमा ल्याउन एन्फाले आग्रह गरेको छ ।

आयोजक समिति सदस्य विनोद कार्कीका अनुसार साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित बन्द प्रशिक्षणमार्फत अन्तिम टोली छनोट र तयारी अगाडि बढाइनेछ ।

नेपालले भुटानमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न यु-१७ राष्ट्रिय महिला टोलीलाई व्यावसायिक ढंगले तयार पार्ने योजना अघि सारेको छ । साफ यु-१७ महिला च्याम्पियनसिप २०२५ आगामी भदौ ४ देखि १५ गतेसम्म भुटानमा आयोजना हुँदैछ ।

Adv footer