२०८२ साउन ९ शुक्रबार
Jhapa Today
Adv top

मनसुन कम सक्रियः परेन पानी, पूर्वी तराईमा उखुम गर्मी


बिर्तामोड, साउन ८ । अस्ति मङ्गलबारसम्म सक्रिय रहेको मनसुन फेरि निष्क्रियजस्तै भएको छ । मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मनसुन निष्क्रिय नभएर कम सक्रिय भएको हो ।

मनसुन कम सक्रिय भएकाले झापासहित देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि बिहानैदेखि घाम चर्किएको छ । हिजो राति केही ठाउँमा हल्का वर्षा मात्रै भयो ।

खासगरी पूर्वी तराई र मधेशमा पानी पर्न नसक्दा तापक्रम घटेको छैन । राति पानी पर्न खोजे पनि दिउँसो घाम लाग्ने देखिँदै आएको छ । जनजीवन प्रभावित छ ।

नेपालमा मनसुन गत जेठ १५ गते भित्रिएको थियो । कोशी प्रदेशबाट भित्रिएको मनसुन फैलिँदै सुदूरपश्चिम पुगे पनि पूर्वमा भने पानी पर्नै सकेको छैन ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भेगसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।

राति कोशी र मधेश प्रदेशका एक/दुई ठाउँमा ठुलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Adv footer