२०८२ साउन ९ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा दोस्रो झापा रक स्टार हुने


बिर्तामोड, साउन ८ । झापाको बिर्तामोडमा दोस्रो संस्करणको झापा रक स्टार हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन यही साउन १० गते बिर्तामोडमा हुनेछ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर विद्यालयस्तरको प्रतियोगिताबारे जानकारी दिइएको हो । अमृत स्टोर बिर्तामोडको आयोजना हुने वार्षिक साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रमको तयारी सुरु गरिएको सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालयले सहभागी जनाउने उनले बताए ।

कार्यक्रम संयोजक सुनिता तामाङका अनुसार ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । त्यस्तै, ब्यान्डमा एउटा वाद्यवादनमा नेपाली लोक बाजा हुनुपर्नेछ ।

पहिलो चरणबाट दोस्रो चरणमा छनोट भएका टप ६ वटा प्रतिस्पर्धी सांगीतिक समूहहरूले फाइनल चरणको प्रस्तुति दिन पाउने छन् ।

कार्यक्रमको मुख्य उद्देश्य संगीत साधनमा विद्यार्थी तथा युवालाई आकर्षित गर्ने, नेपाली भाषा, कला, संस्कृति, संगीत र लोक बाजाको जगेर्ना गर्ने रहेको पौडेलले बताए ।

त्यस्तै, विद्यार्थीहरुका लागि संगीतको गुणस्तरीय प्लाटफर्म प्रदान गर्ने, म्युजिक ट्रयाक छोडेर लाइभ ब्यान्ड कल्चरको विकास गर्ने, संगीतमार्फत समाजको संस्कृति र मौलिकताको प्रवर्धन गर्ने प्रतियोगिताको लक्ष्य रहेको तामाङले बताइन् ।

Adv footer