२०८२ साउन १० शनिबार
Jhapa Today
Adv top

‘प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी’


बिर्तामोड, साउन ९ । प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको जनाइएको छ । उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरू एकजुट भएर घटनाको पर्दाफास गरेका हुन् । 

इलामको रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ्ग सामुदायिक बन लगायतका वनहरूबाट काठ तस्करी हुँदै आएको हिजो बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको ‘हामी यस क्षेत्रका सचेत युवाहरूले तस्करी रोक्न विभिन्न प्रयत्न गरे पनि प्रहरी कै संलग्नताले पछिल्लो समय हामी विरुद्ध नै धाक धम्की र फसाई दिने जस्ता अभिव्यक्तिले गर्दा आज हामी आम पत्रकार माझ हाम्रो ठाउँको वास्तविकता उजागर गर्दै छौ ।’

गत शनिवार अर्थात् साउन ३ गते बिहानको राती स्थानीय युवाको सक्रियता र सशस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा अर्जुनधारा १ बाट मे १ ज ११६५ नम्बरको पिक अप गाडीमा लोड गरिएको सखुवाको ३८.४८ क्युफिट चिरान काठ बरामद गरेर प्रहरीलाई जिम्मा लगाइएको थियो । 

तर, प्रहरी चौकी वर्फल्याङगकी असई छत्रा श्रेष्ठ सहितका प्रहरी र केही राजनैतिक दलका नेताहरूले तस्करीमा संलग्नलाई उन्मुक्ति दिनुका साथै सवारी साधन समेत छुटाउने खेल भइरहेको घटनाले स्थानीय सशङ्कित भएका पत्रकार सम्मेलनमा बताइएको छ । 

उनीहरूका अनुसार उक्त घटनामा बनका पूर्व अध्यक्ष लक्ष्मीकान्त घिमिरेको समेत प्रत्यक्ष संलग्नता रहेको ठहर छ  । उनले आफूसँग ठुला नेता शक्ति केन्द्र चिनजान रहेको भन्दै यस्ता घटनाले केही फरक नपर्ने अभिव्यक्तिले सचेत युवा थप सशङ्कित भएका पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

गलत क्रियाकलाप विरुद्ध चालेको अभियानमा जिल्ला प्रहरी कार्यालय इलाम र सब डिभिजन बन कार्यालय सुरुङगाले पनि चासो नदिँदा समस्यामा पर्दै गएको पत्रकार सम्मेलनमा उपस्थित स्थानीयले बताएका छन् । 

‘गाउँमा हामी पनि विभिन्न पेशा र व्यवसाय गर्दै आएका छौँ, यस सन्दर्भमा देखाई दिने, तिमीहरूले केही गर्न सक्दैनौ, हामीसँग पावर छ, हामी विरुद्ध लाग्नेलाई फसाई दिन्छौ जस्ता अभिव्यक्तिले कतै विकृति विरुद्ध आवाज उठाउने हामीलाई फसाउने षडयन्त्र त भएको छैन’  विज्ञप्तिमा भनिएको छ । 

यतिका दिनसम्म घटनामा प्रत्यक्ष संलग्न असई माथि छानबिन नहुनु, तस्करमा संलग्न कानुनी दायरामा नआउनु, सामुदायिक बनले अहिलेसम्म चासो नदेखाउनुले तस्करीको जालो कहाँसम्म फैलिएको छ भन्ने आशंका गर्ने प्रशस्त आधार रहेको छ भन्दै पत्रकारहरूलाई एक पल्ट सो क्षेत्रमा स्थलगत अवलोकन गर्दै सम्बन्धित निकायको जबाफदेहिता खोजी गरिन दिन आग्रह गरिएको छ ।  विकृति विरुद्ध आवाज उठाउने हामी कसैलाई फसाउने खेल भएको पाइए त्यस विरुद्ध पनि सचेत भएर खबरदारी गरिदिन  विकृतिका विरुद्ध स्थानीय सचेत युवाहरू अपिल  गरेका छन् । 

पत्रकार सम्मेलनमा विकृतिका विरुद्ध स्थानीय सचेत युवाहरू दिनेश लामिछाने, नारदमणि दाहाल, कर्णबहादुर खड्का, सुशन विष्ट, कमल श्रेष्ठ, राम खड्का, मदन कार्की, तेजकुमार आचार्य, राजन गुरुङ (टार्जन), भवानी अधिकारी, श्याम ढकाललगायतको उपस्थिति रहेको थियो ।  

Adv footer