२०८२ साउन ११ आइतबार
Jhapa Today
Adv top

हल्दिबारी आगलागीका घाइते ओलीको मृत्यु


बिर्तामोड, साउन ११ । झापाको हल्दिबारीमा एक घरमा भएको आगलागीमा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागीमा परिवारका पाँचजना घाइते भएका थिए ।

पाँच दिनअघि भएको सो आगलागीका घाइते घरधनी हल्दिबारी-४ ओलीचोकका ६० वर्षीय पुण्यप्रसाद ओलीको हिजो बिहान ११.३५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

ओलीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनको त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउन ६ गते बिहान ८ः४० बजे ओलीको ३ तले पक्की घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यासमा आगो सल्कन गई आगलागी भएको थियो ।

सो आगलागीमा पुण्यप्रसादसहित पाँचजना घाइते भएका थिए । आगो निभाउने क्रममा घरधनी ओली, उनकी श्रीमती ५९ वर्षीया गंगादेवी ओली, उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र भतिज २० वर्षीय आर्यन ओली घाइते भएका थिए ।

आगलागीमा घाइते भएका गंगादेवी र अनिता डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । अन्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

Adv footer