२०८२ साउन ११ आइतबार
Jhapa Today
Adv top

भद्रपुरमा गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ


बिर्तामोड, साउन ११ । लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको हो । 

ब्युरोका एसएसपी कृष्ण कोइरालाले गोली चलाएर आरोपीलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार भद्रपुरमा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

सो क्रममा आरोपी मोहम्मद इस्लामको खुट्टामा गोली लागेको छ । दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो । उनको साथबाट करिब १२० ग्राम खैरो हिरोइन बरामद भएको छ भने घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको छ ।

टोलीले शनिबार दिउँसो ३ः५० बजे भद्रपुर-५ स्थित बसपार्क नजिकै गोली चलाएर कारोबारी भारतको बिहार किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार लागुऔषध कारोबारी इस्लामसँग ब्राउन सुगर खरिद गर्न पुगेको प्रहरी टोली एउटा होटेलमै बसेका थियो । होटेल बाहिर कारोबारी पुग्नसाथ प्रहरीले समात्न खोज्दा प्रतिकारमा गोली चलेको बताइएको छ ।

Adv footer