बिर्तामोड, साउन ११ । झापाको दमकमा जंगली हात्तीले आक्रमण गर्दा दुईजना महिला गम्भीर घाइते भएका छन् । उनीहरुको दमक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती आक्रमणबाट दमक-१ बरगाछीका ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राई घाइते भएका हुन् ।

उनीहरुलाई बरगाछीस्थित भित्री सडकखण्डमा आज बिहान ०४ः१५ बजे मर्निङ वाक गरिरहेको बेला बाटोमा हिँड्ने क्रममा अचानक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरस्का अनुसार सुनिताको टाउको, दाहिने आँखीभौ, दुबै खुट्टा, बायाँ हात र शरीरको विभिन्नमा भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, कविता राईको बायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको छ भने उनी बोल्न सक्ने अवस्थामा छिन् । दुबैजना घाइतेको दमक अस्पताल दमकमा उपचार भइरहेको छ । हात्ती जंगलतर्फ भागेको छ ।
