
बिर्तामोड, साउन १२ । हिजो साँझ र राति झापासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सातवटै प्रदेशका तराई तथा पहाडी भेगमा राति मध्यम वर्षा भएको हो ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । यद्यपि, रोपाइँका लागि आवश्यक पानी पर्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज सोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाको अनुरोध छ ।