
बिर्तामोड, साउन १२ । झापाको बिर्तामोडमा रहेको एक सुधार केन्द्रमा रहेका युवाले फलामे किलो (तार काँटी) खाएको खुलेको छ । उनी बिरामी परेपछि काँटी खाएको पत्ता लागेको हो ।

बिर्तामोड नगरपालिका–७ हर्कलाल मार्गमा रहेको शुभारम्भ प्रतिष्ठान नेपाल नामको सुधार केन्द्रमा रहेका धरानका युवा काँटी खाएर बिरामी परेका हुन् ।

धरान उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय सौरभ गुरुङ काँटी खाएर बिरामी परेको प्रहरीले जनाएको छ । गत असार २७ गते गुरुङलाई उनका आफन्तले त्यहाँ ल्याएर राखेका थिए ।


उनी असार ३० गते सुधार केन्द्रबाट भागेर गएका थिए । खोजतलास गर्ने क्रममा साउन ९ गते भद्रपुररोडबाट उनलाई फेला पारेर पुनः सुधार केन्द्रमा राखिएको थियो ।

हिजो साँझ ६ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि सोही सुधार केन्द्रका अध्यक्ष बिर्तामोड ५ बस्ने २४ वर्षीय कृष्ण कडरियाले बिर्तासिटी अस्पताल बिर्तामोड लगेका थिए ।

सिटी स्क्यान गर्दा उनको पेटमा दुईवटा काँटी देखिएको अस्पतालले जनाएको छ । उनको शरीरको विभिन्न भागमा नीलडाम समेत देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय सुधार केन्द्रहरुमा विभिन्न किसिमका घटना हुने गरेका छन् ।