
बिर्तामोड, साउन १३ । झापा भद्रपुरको प्रादेशिक अस्पताल भद्रपुरमा रेबिजविरुद्धको भ्याक्सिन सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालले सूचना निकालेर भ्याक्सिन सेवा सुरु हुने जनाएको छ ।

अस्पतालमा ४२ दिनदेखि बन्द रहेको सेवा सञ्चालनमा आउने भएको अस्पताल प्रशासनले जनाएको छ । यस विषयमा झापा टुडेले प्रादेशिक अस्पताल भद्रपुरमा छैन निःशुल्क पाइने रेबिजको भ्याक्सिन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट रेबिजविरुद्धको भ्याक्सिन प्राप्त भएकोले आजदेखि सेवा सञ्चालन हुन लागेको अस्पतालको सूचना उल्लेख छ ।


अस्पतालमा असार ३ गतेदेखि बन्द भएको सेवाका कारण बिरामीहरू निजी फार्मेसीबाट महँगोमा भ्याक्सिन किन्न बाध्य भएका थिए । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पतालमा भ्याक्सिन अभाव हुँदा दैनिकजसो उपचारका लागि आउने बिरामी उपचार नपाई फर्किंदै आएका थिए ।

कुकुर, बिरालो, बाँदरजस्ता जनावरको टोकाइपछि २४ घण्टाभित्रै पहिलो भ्याक्सिन लगाउनु अत्यावश्यक सेवा ठानेर सरकारले यो भ्याक्सिन निःशुल्क दिनुपर्ने नीति नै बनाएको हो ।

तर, प्रादेशिक अस्पतालमा निःशुल्क पाइने भ्याक्सिन नहुँदा बिरामीहरू अस्पताल वरिपरिका निजी फार्मेसीहरूबाट साढे ६ देखि ७ सय रुपैयाँसम्म भ्याक्सिन खरिद गरी लगाउनुपर्ने अवस्था आइपरेको बिरामी तथा तिनका आफन्तजनहरूले गुनासो पोखेका थिए ।

अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलका अनुसार अस्पतालमा मासिक ५०० भ्याक्सिन अस्पतालमा खपत हुने गरेको छ ।