२०८२ साउन १३ मंगलबार
Jhapa Today
Adv top

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै


बिर्तामोड, साउन १३ । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी झापालगायत थारु समुदायमा यो पर्व मनाइँदैछ ।

थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी थारु समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँछन् ।

यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको छ ।

गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ ।

पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ ।

कसरी मनाइन्छ गुरही ?
गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।

‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको बताउँदै यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने गर्दछ । यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको हो ।

पर्वको केही दिनअघिदेखि थारु समुदायमा घर आँगन लिपपोत गरी सफा बनाइन्छ । पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ ।

महिलाले रङ्गीचङ्गी कपडाका टुक्राहरूबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन् । केटाहरूले बाँस वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) लट्ठी बनाउँछन् ।

साँझपख गाउँका मानिस, विशेषगरी बालबालिका र युवती, नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर गाउँको चोक वा चौराहामा भेला हुन्छन् ।

गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन् । त्यसपछि युवतीले ल्याएका गुरहीलाई एक ठाउँमा राखेर पूजा गरिन्छ ।

भाइबहिनीबीचको माया प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले गुरिया फाल्ने गर्छन् र भल्मन्साको आदेशमा दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् ।

ठटाउने बेला उनीहरू ‘देऊ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन् । यसलाई ‘गुरही असरैना’ भनिन्छ । यसरी गुरही पिट्दा गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास रहेको छ । गुरही पिटिसकेपछि युवतीले आफूले ल्याएको भुजा, चना, मकैजस्ता गेडागुडी प्रसादका रूपमा सबैलाई बाँड्छन् ।

‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्टि गर्छन् । त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधी र सङ्कट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने विश्वास छ ।

कोहीले कपडाका टुक्रा सङ्कलन गरेर घरतिर घरको ढोकामा बाँध्ने गरिन्छ । यसोगर्दा घरमा रहेको दुःख, कष्ट, सर्प बिच्छीहरू घरबाट निस्केर जाने जनविश्वास रहेको छ ।

Adv footer